दीपक मनाङेलाई ५ वर्ष कैद ,सांसद पद अब के हुन्छ ?

काठमाडौं । राजनीतिमा स्थापित हुने प्रयत्नमा लागेका र प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङे राजीव गुरुङ को राजनीतिक यात्रा धरापमा परेको छ । अकुत सम्पत्ति आर्जन, व्यक्ति हत्या र फिरौती असुलीको आरोप झेलिरहेका उनको जेल यात्रा सुरु हुने भएको छ ।

मनाङे गुन्डागर्दीको दुनियाँमा २०४६ पछि प्रवेश गरेका थिए । सुरुवातदेखि ठमेललाई आफ्नो क्षेत्र बनाएर संगठित गुन्डागर्दीमा सामेल मनाङेले विस्तारै ठमेलमा रात्रिकालीन क्लब सञ्चालनमा पनि हात हाले । रात्रिकालीन व्यवसायीबाट हप्ता असुली, संगठित गुन्डागर्दीसँगै उनले केही क्लबमा अवैध रूपमा सेयर पनि लिए र आफ्नो पकड बढाउँदै गए ।

गुन्डागर्दीमा संलग्न चक्रे मिलनलगायतका विभिन्न समूहसँग मनाङेको बारम्बार झडप भइरहन्थ्यो । पक्राउ पर्नु, जेल चलान हुनु र केही समयपछि छुटेर फेरि पुरानै धन्दामा सामेल हुनु उनका लागि नियमित आकस्मिकता जस्तो थियो । २०६० पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा उनी पक्राउ परेर जेल चलान भएका थिए । त्यसपछि उनी २०६५ फागुन र २०७० फागुनमा पक्राउ परेका थिए ।

दीपक मनाङेलाई ५ वर्ष कैद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मनाङेलाई २०७० भदौ १ गते पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण विभागमा गुन्डागर्दीको माध्यमबाट १४ करोड ७३ लाख रुपैयाँ अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा २०७० जेठमा मुद्दा चलाएको थियो । अदालतले उनीसँग २ करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई सदरखोर डिल्लीबजार पठाइएको थियो । विशेष अदालतबाट अवैध सम्पत्ति आर्जनको मुद्दामा सफाइ पाएपछि उनी राजनीतिमा सक्रिय हुने प्रयत्नमा लागेका थिए ।

मनाङेले अपराध र राजनीतिको यात्रासँगै अगाडि बढाएका थिए । राजनीतिकै आडमा उनले गुन्डागर्दी र फिरौती असुलीको साम्राज्य बढाएको प्रहरी अधिकारीहरूको बुझाइ छ । सुरुवातदेखि नै कहिले राप्रपा, कहिले कांग्रेस त कहिले एमालेको निकट रहेर मनाङेले आफ्नो प्रभुत्व बढाउँदै लगेका थिए । २०७३ पुस ८ गते राप्रपा प्रवेश गरेका उनी २०७४ असोजमा एमाले प्रवेश गरेका थिए ।

समयअनुसार दल बदलिरहने र सत्ताका निकट रहिरहने मनाङे बीचमा एकपटक लक्ष्मण चौधरी नेतृत्वको संघीय समाजवादी पार्टीमा पनि प्रवेश गरेका थिए । तर त्यहाँ पनि उनी लामो समयसम्म रहेनन् र पुरानै दलमा फर्किए । स्थानीय तहको निर्वाचनअघि राप्रपा नेपालमा प्रवेश गरेका उनले राप्रपाको एकता महाधिवेशनसँगै मनाङको जिल्ला अध्यक्षमा चयन भएका थिए । उनकै नेतृत्वमा सिंगै मनाङको राप्रपा एमालेमा प्रवेश गर्‍यो ।
सांसद पद के हुन्छ ?
संविधानको धारा १७८ अनुसार भ्रष्टाचार या कुनै नैतिक पतन हुने काम गरेमा सांसद पद स्वतः जानेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘दीपक मनाङेको मुद्दामा अब संवैधानिक इजलासबाट मात्रै टुंगो लाग्नेछ । फौजदारी अभियोग लागेका व्यक्तिको हकमा सांसद पद निलम्बन हुनेछ ।’ त्यस्तै, प्रदेश सभा सदस्यको अयोग्यतासम्बन्धी प्रश्न उठेमा त्यसको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था धारा १८१ ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्