सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
काठमाडौं, माघ ४ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ ।
निमाण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्नुपर्ने र उहाँहरु माघको तेस्रो साता आउने हुँदा यो महिनाको अन्तिम सातामात्रै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य भइरहेको छ ।
भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्नेगरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले र ४० कक्षाकोठाको छ ।
उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुभयो । “माघ अन्तिम साता सरकारलाई हस्तान्तरण हुन्छ”, उहाँले भन्नुभयो । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाई स्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो ।
विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्