आईतबारसम्म वर्षा र हिमपात, बाहिर निष्कनै कठिन

काठमडौँ, ३ माघ । हिजो बिहिबार दिउँसोदेखि नेपालमा अहिले वर्षा भइरहको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको वर्षा भएको हो । नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्य देखि पूर्णतया बदली भइ पानी परेको छ । चिसो र ठण्डिका कारण घरबाट बाहिर निष्कन कठिन छ । तातो पिरो खाने र घरमै बस्ने समय भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार माघ ३ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा पानी पर्ने र केहि स्थानमा हल्का र मध्यम वर्षाको संभावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ । राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको विभागले जनाएको छ ।

शनिबार पनि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको विभागले बताएको छ ।

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ । रातीदेखि भने देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्