नेपाल दूरसञ्चार कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न, ४५ रुपैयाँ लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज (२०७६ पौष २९ गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७५।७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५÷७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै उहाँले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरुबारे जानकारी गराउनु भएको थियो ।
मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउदै उहाँले देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताउनु भयो । त्यसैगरी कम्पनीले जिम्मेवार राष्ट्रिय निकायको रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनका लागि गरेका कार्यको समेत जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको समेत उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिनुभयो । साथै उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको बताउनु भयो । साथै तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू. ४३.८४ अर्ब र रू. ९.७६ अर्ब कायम गर्न सफल भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्