टावरमा आक्रमण नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको उल्लेख गर्दै त्यस्ता किसिमका आक्रमण नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायकका मोबाइल टावरमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेको प्रति आपत्ति जनायँदै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो आग्रह गरेको हो । मंगलबार बिहानमात्रै काठमाडौंका दुई स्थानमा मोबाइल टावरमाथि आक्रमण भएको छ । यसअघि एनसेलको भैंसेपाटीस्थित मुख्यालयमै आक्रमण भएको थियो । विप्लवले गरेको उक्त आक्रमणमा एक जनाको ज्यान नै गएको थियो ।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहलगायतको संलग्नतामा यस्ता आक्रमणका घटना बढिरहेका बेला दूरसञ्चार प्राधिकरणले भने यस्तो कार्य नगरिदिन सम्बन्धित पक्षसँग अनुनय गरेको छ । दूरसञ्चारले सूचना नै जारी गरेर यस्तो आग्रह गरेको हो ।

दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेको सन्दर्भमा सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्तामा परेकाले त्यसो नगरिदिन उसले विप्लवलगायतलाई अपिल गरेको हो ।

‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यासरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्ताहरूमा पर्ने हुन्छ,’ नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अतिआवश्यक दूरसञ्चार सेवाको पूर्वाधार टावरलगायतका प्रणालीमा क्षति नर्पुयाउन अनुरोध गरिन्छ ।’ जारी सूचनामा लेखिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्