८५ वर्षपछि धनकुटा अस्पतालमा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा

काठमाडौं । स्थापनाको ८५ वर्षपछि जिल्ला अस्पताल धनकुटाले आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाँको लागतमा नयाँ आधुनिक भिडियो एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो ।

एक्सरे सेवा सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

एक्सरे गर्नकै लागि मात्रै दैनिक २० जनाभन्दा बढी बिरामी अस्पताल आउने गरेका छन् ।

कलेजो, मृगौला फियो, पाठेघर साथै पेटभित्रका समस्यालगायत सबै प्रकारको एक्सरे जिल्ला अस्पतालमै हुन थालेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख डाक्टर फणिन्द्र बरालले जानकारी दिए ।

आधुनिक एक्सरे मेसिन जिल्ला भित्रिएसँगै धनकुटासहित छिमेकी जिल्लाका बासिन्दाले तराईका जिल्लामा झाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्