लापरबाहीले सुत्केरीको मृत्यु , नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं, पुस २६ । सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड गरिएको छ । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा सुत्केरीका आफन्तले तोडफोड गरेका हुन् ।

भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले बिहीबार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। तर, सुत्केरी भएको भोलिपल्ट अर्थात् शुक्रबार सुनिताको मृत्यु भएको थियो।

आफन्तले सुनिताको उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल तोडफोड गरेका हुन्।

आफन्तले अस्पताल प्रशासनसँग सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नाराबाजीसमेत गरेका छन्। तर, प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ भने अस्पताल प्रशाशन भने सम्पर्क बाहिर रहेको छ।

नवजात शिशु स्वस्थ रहे पनि आमा भने बाच्न सफल हुनु भएन् । सुत्केरी गराउने क्रममा भ्याकुमले शिशु तान्दा लापरबाही भएको मृतक सुनिताका आफन्तले बताएका छन् ।

आफन्तले भ्याकुमले शिशु तान्दा सुत्केरीको पाठेघरसमेत तानेको आरोप उनीहरुले लगाएका छन्। आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको मागसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्