सुदूरपश्चिममा चिकित्सक अभाव, स्थानीयलाई सास्ती

काठमाडौं, पुस २५ । सुदूरपश्चिमा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा कूल १०४ जना चिकित्सकको अभाव रहेको छ । चिकित्सक अभावका कारण यहाँका अस्पतालमा भर्ना भएका बिरामीले सहज र सहुलियतरुपमा उपचार पाउन सकेका छैनन् । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि प्रमुखको पद रिक्त रहेको छ ।

जिल्ला अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा तीन जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन् । नवाँै र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेब, एक स्टाप नर्स तथा दुई वटा एएनएमको दरबन्दी रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्