छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा आठ जनाको मृत्यु, केहि घाइते

काठमाडौं, पुस २५ । देशका विभन्न छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा आठ जनाको मृत्य भएको छ । यसरी दुर्घटना हुने ठाउँमा चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुर रहेका छन् ।

रौतहट, कटहरिया नगरपालिका(९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना१त ४१४० नम्बरको ट्याक्टरले किचेर एक जना व्यक्तिको मृत्यु भएको छ।

घटनास्थलमै मृत्यु भएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

यस्तै, रौतहट, माधवनारायण नगरपालिका-३ स्थित सडकमा ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार साँझ मोटरसाइकलमा सवार सोही नगरपालिका-६ माधोपुरब बस्ने ४० वर्षीय राम अधार ठाकुरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तराई हस्पिटल सुकदेवचोक हुँदै तराई हस्पिटल वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय सुशील ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ।

फरार ट्याक्टर चालकलाई प्रहरीले खोजिरहेको छ। चितवन, राप्ती नगरपालिका-६ हर्दी्स्थित सडकमा ना७ख ४६६० नम्बरको ट्यांकरले प्रदेश नम्बर(३-०२-००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका-४ का ३५ वर्षीय इन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुवै सवारी साधन र ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामेछाप, दोरम्बा गाउँपालिका-३ टोकरपुरस्थित सडकमा बिहीबार दिउँसो बा२क ९००९ नम्बरको गाडीको ठक्करबाट सोही स्थान बस्ने अशोक कँडेलकी ६ वर्षीया छोरी प्रतिमा कँडेलको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटना गराएर फरार गाडी चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ थापागाँउस्थित सडकमा मे१च ६६०६ नम्बरको जीप सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार सोही स्थानकी ३५ वर्षीया पवित्रा थापाको घटनास्थलमै मृत्यु भएको छ।

धनुषा, मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलाको बगरमा ना७ख ६४१३ नम्बरको टिपरले बिहीबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

टिपर नियन्त्रणमा लिइएको छ। चालक फरार छन्।

मकवानपुर, भीमफेदी गाउँपालिका-९ अगोरस्थित हेटौंडा-भैसे(पालुङ सडकखण्डमा बा१य १२८३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुई जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको छ। यसरी दिनानुदिन नेपालमा दर्घटना पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्