नदीजन्य पदार्थ उत्खनन रोक्नेलाई टिपरले किचेर हत्या

काठमाडौं, २५ पुस । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहानै टिपरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

श्रीपुरस्थित औरही खोलाको बगरमा अवैध उत्खनन् रोक्न अग्रसर स्थानीयबासी दीलिपकुमार महतोको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार बिहान ४ बजे नदीजन्य पदार्थ लिन गएको ना ७ ख ६४१३ नम्बरको टिपरलाई उनले बाटोमै रोकेका थिए । चालकसँग भनाभन भएपछि टिपरले किचेर उनको हत्या गरिएको स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार मृतक महतो बिहानै साथीहरुसँग नदीकै बाटो ‘मर्निङ वाक’ मा थिए । एकाबिहानै खोलातिर टिपर गएको देखेपछि उनले उक्त टिपरलाई रोकेर अवैध उत्खनन् नगर्न सुझाव दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै यादवले बताए ।

प्रहरी निरीक्षक यादवका अनुसार आक्रोसमा आएर चालकले हत्या गरेको र चालकलाई पक्राउ गरिएको छ तर उसको बयान लिन बाँकी छ । स्थानीयले सडक अवरोध गरेका कारण अहिले हामी सडक खुलाउनमै केन्द्रित भएको छ ।

सडक अवरोध खुलाएपछि चालकको बयान लिइने र घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताए । हत्याको विरोधमा स्थानीयले टायर बालेर श्रीपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतक महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्