डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाए : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, पुस २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाइएको आरोप लगाएका छन् । उनले सम्पर्क कार्यालय बनाई बिरामीको उपचार निजी अस्पतालमा गर्ने गरेको बताए ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य सेवाका कर्मचारी तथा डाक्टरहरुको पारिश्रमिक र सेवा सुविधा कम हुँदा सरकारी अस्पताल सम्पर्क कार्यालय जस्तो बनेको र उपचार निजी अस्पतालमा हुने गरेको उनले उल्लेख गरे । मन्त्री ढकालले यस्तो विकृतिलाई हटाउन सेवा सुविधा थप हुने गरी विधेयक ल्याउनुपर्ने औंल्याएका छन् ।

बैठकमा सांसदहरुले चिकित्सकहरुको उमेरहद निजामति क्षेत्रका कर्मचारीको भन्दा बढी हुनुपर्ने तथा विशेषज्ञ चिकित्सक बन्नका लागि कर्णाली क्षेत्रमा अनिवार्य काम गरेको हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

छलफलमा सांसदहरुले स्वाथ्यकर्मीहरुको बढुवा, अध्ययन, अनुभव लगायतका विषयमा विधेयकले प्रस्ट गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्