बौद्ध नीतिमा आधारित कूटनीति अपनाएका छौं: परराष्ट्रमन्त्री

कृष्णराज गौतम ,काठमाडौं । ‘मेरो विचार सर्वोपरी हो, सबैले मान्नुपर्छ, नभए गोला बारुद वर्षाउँछु । मानवीय मूल्य मान्यताप्रति संवेदनशील नहुने शक्ति राष्ट्रका कारण आज विश्वमा अशान्ति छाएको छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो ।

सम्बन्धित मुलुकका जनताको लोकतान्त्रिक प्रणालीलाई शक्ति सम्पन्न भनिएका देशले स्वीकार्न नसक्दा विभिन्न राष्ट्रमाथि भइरहेको आक्रमणको नेपालले निन्दा गरेको उल्लेख गर्दै उहाँले बौद्ध साहित्यमा समाविष्ट पञ्चशीलको जगमा देशको कूटनीति सञ्चालन भइरहेको बताउनुभयो ।

लेखक डा नारायणप्रसाद अधिकारीको २४औँ कृति ‘गौतम बुद्ध र उनको धम्मपद’ को विमोचन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले असंलग्न परराष्ट्र नीति बुद्धको मध्यम मार्गमा आधारित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुकको भौगोलिक अखण्डताको सम्मान, एकापसमा सहअस्तित्व, अहस्तक्षेप, शान्तिलगायत विषयका आधारमा नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विकास भइरहेको छ । बौद्ध शिक्षालाई ती शक्ति राष्ट्रका बीचमा पु¥याउन सकेमा शान्ति कायम हुन्छ ।”

आगामी वर्ष सन् २०२१ मा नेपालमा ‘वैशाख डे’ मनाउनका लागि संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरिने बताउँदै उहाँले भन्नुभयो, “समाजलाई कसरी असल बनाउने भन्नेबारे बौद्ध दर्शनमा शील, आचरण, नैतिक शिक्षा छन् । अहिले विभिन्न बाहनामा केही समूहले नेपालीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न थालेका छन्, सन् २०१० देखि सन् २०११ सम्म आउँदा एक प्रतिशतले बौद्ध धर्मावलम्बीको सङ्ख्या घटेको छ, यो चिन्ताको विषय हो ।” विविधताले भरिएको हाम्रो समाजमा यस साहित्यको सान्दर्भिकता रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले बौद्ध शिक्षाका गहन विषयवस्तुलाई सरलरूपमा बुझ्न कृति महत्वपवूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

लेखक अधिकारीले विद्यावारीधिमा प्रस्तुत गर्नुभएको सोधपत्रललाई यो कृतिका रूपमा प्रकाशन गरी आज सार्वजनिक गरिएको हो । बौद्ध साहित्यमा अनुयायीलाई धार्मिक शिक्षा दिनका लागि सङ्ग्रह गरिएका विषयवस्तु छन् । यसलाई पाली भाषामा अभिधम्म पिटक भनिन्छ । दार्शनिक मतलाई सुत्र पिटकमा र भिक्षुका आचारसंहितालाई विनय पिटकमा समावेश गरिएका छन् ।    

सुत्र पिटकअन्तर्गत खुद्दकनिकायमा १५ वटा स–साना ग्रन्थमध्ये ‘धम्मपद’ महत्वपूर्ण मानिएको छ । सोही ग्रन्थलाई नेपाली भाषामा सरल अनुवाद गरिएका यस कृतिमा राजकुमार सिद्धार्थदेखि गौतमबुद्धसम्म, धम्मपदका स्रोत र सञ्चनालगायत २९ अध्याय छन् । तत्व, रूप वा चित्तका विषयवस्तुलाई सरल तरिकाले बुझाउन खोजिएको छ ।

वरिष्ठ साहित्यकार तथा भाषाविद् मुकुन्दशरण उपाध्यायले सदियौँदेखि मिलेर बसेको नेपाली समाजलाई कमजोर बनाउन अहिले नेपाली वर्णविन्यास परिवर्तन गर्न खोजिएकाले त्यसमा हामी सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । समग्रमा बुद्ध शिक्षालाई मानव तथा प्राणीको जीवन माटोको भाँडासँग तुलना गरेर शिक्षा दिइएको छ । यस ग्रन्थमा अहमतालाई त्याग गर्न विभिन्न उपाय सिकाउन नैतिक शिक्षाको प्रयोग गरिएको छ ।  

अन्तरराष्ट्रिय युवा भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु तपस्सी धम्मले बुद्धजन्म भूमिमा सबैले बुझ्ने नेपाली भाषामा बौद्ध साहित्य तथा दर्शनको अभाव रहेको अवस्थामा उक्त कृतिले ज्ञान प्रवद्र्धमा भूमिका निर्वाह गर्ने बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्यले बौद्ध साहित्यमा जीवन जीउने तथा सरल रूपमा मृत्युलाई वरण गर्नसक्ने क्षमताको शिक्षा रहेकाले पछिल्लो समय यो लोकप्रिय बन्दै गएको विचार व्यक्त गर्नुभयो । 

मातृसेवा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद पाण्डेले बुद्धले दिएका उपदेशमा व्यक्ति आत्मनिर्भर भई अरुको कल्याणका लागि क्रियाशील रहन प्रेरित गरिएकाले यसको महत्व रहेको बताउनुभयो । लेखक अधिकारीले वैदिक दर्शन, जैन र बौद्ध साहित्यको उद्गमस्थल नेपाल रहेकामा गौरव गर्नुपर्नेमा जोड दिँदै बुद्धकालीन समयमा अन्य धर्मलाई आस्थासँग जोडिएकाले बुद्धले धार्मिक विषयलाई जीवनपयोगी बनाउने उद्देश्यले वैज्ञानिक रूपमा नयाँ दर्शन र साहित्यलाई प्रयोगमा ल्याएको बताउनुभयो । गोरखा पब्लिकेशनका अध्यक्ष लोकमणि पौडेलले सह–अस्तित्व र शान्तिपूर्ण समाज निर्माणका लागि बौद्ध दर्शनको महत्व रहेकाले यसलाई व्यापक बनाउनपर्नेमा जोड दिनुभयो । 

–––

प्रतिक्रिया दिनुहोस्