चिसोसँगै ह्वात्तै बढ्यो राजधानीमा विद्युत् माग

काठमाडौं , पुस २२ । काठमाडौं लगाएत देशभर भिसो बढेको छ । चिसोबढेसँगै राजधानीमा विद्युत् माग ह्वात्तै बढ्ेको प्राधीकरणले जनाएको छ । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ ।

लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।

एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ ।

प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ । जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ ।

प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिएका छन्् । ‘सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ ।

केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ’, प्रवक्ता अधिकारीले भने । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता र समस्या पैदा भएको छ । चिसोले विद्युत माग बढेको हो । चिसो अझै बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्