मुग्लिन सडक : चट्टान खोपेर पहिरो रोक्दै ,सकसपूर्ण काम मजदुरहरुका लागि

काठमाडौं, पुस २० ।बेलाबखत पहिरो जाने तथा जाम हुने सडक हो मुग्लिन , यति बेला यो सडकको निमार्ण कार्य भइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनालले बताए ।

पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् भने ‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा कार्यमा व्यस्त छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो मजदुरहरुका लागि । मजदूर जोखिम मोलेर भएपनि दुई सातादेखि पहिरो रोक्न तल्लिन छन् ।

मजदूर कतै फलामको डण्डीको भ¥याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका हामी देख्नसक्छौ ।

चट्टान खोप्नकै लागि यहाँको सडक सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गर्ने गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहने खनालले बताए । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने समेत आयोजनाले जनाएको छ । अहिले विभिन्न आठ ठाउँमा काम जारी रहेको आयोजनाले जनाएको छ ।

गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाइएको छ । उनीहरु आफ्नो काम एकदम तल्लिन भएर लागिरहेका छन् ।
सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ ।

पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।उक्त कामका लागि अहिले १०४ जना मजदूर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्