उच्च बिन्दुमा नेप्से, एकदिनमै १६.०९ अंकले बढ्यो

काठमाडौं, पुस २० । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १६ दशमलव शून्य ९ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३१ अंकमा कायम भएको छ।

नेप्सेको यो बिन्दु पछिल्लो ४ महिनायताकै सबैभन्दा बढी हो। गत सेप्टेम्बर ५ (भदौ १९ गते) नेप्से १ हजार १ सय ९१ दशमलव शून्य ७ अंकमा पुगेको थियो। त्यसपछि नेप्सेले कायम गरेको यो नै उच्चतम बिन्दु हो।

आइतबार १ सय ७३ वटा कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता सेयर ९ हजार २ सय ९५ पटक खरिदबिक्री हुँदा ७१ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १२ वटै समुहको उपसूचक हरियो देखिएको छ भने सबैभन्दा धेरै जीवन बीमा समुहको उपसुचक ८३ दशमलव ८६ अंकले बढेको छ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै ५ करोड ६२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै एनआइसी एसिया बैंकको ४ करोड ३४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार सबैभन्दा धेरै वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ता छन्। फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन्।

यसैगरी, बिमा कम्पनी पनि लाभांश घोषणा गर्ने तयारीमा रहेका छन्। ती कम्पनीले पनि आकर्षक लाभांश दिने अपेक्षा गरेका छन्। त्यसैले लगानीकर्ताहरू बिमा कम्पनीको सेयर खरिद गर्नतर्फ लागेका हुन्। नेपाल लाइफले आकर्षक लाभांश दिने अपेक्षा गरिएकाले ८ सय नजिक रहेको उक्त कम्पनीको सेयर मूल्य ९ सय ६५ रुपैयाँको हाराहारीमा पुगेको छ।

बिमा र लघुवित्तले आकर्षक लाभांश घोषणा गरेसँगै सेयर बजारमा ती कम्पनीको सेयर खरिदमा लगानीकर्ता झुम्मिन पुगेका छन्। यसअघि नेप्से निरन्तर ओरालो लागेका कारण दिक्क मानेर हिँडेका लगानीकर्ता पनि सेयर बजारमा लगानी गर्न फर्कन थालेका ब्रोकरहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्