राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलिः धरौटी १० हजार

काठमाडौं, पुस १९ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारले उम्मेवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। आइतबार सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्छ।

प्रदेश नम्बर १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृत कार्यालयबाट उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

उम्मेदवारले १० हजार रूपैयाँ धरौटी बुझाउनुपर्नेछ। महिला, दलित र अल्पसंख्यकलाई भने आयोगले ५० प्रतिशत छुट दिने भएको छ। तर आर्थिक रूपमा विपन्न भन्ने प्रमाणित गरेको काजगात चाहिन्छ।

मनोनयन दर्ताका लागि नागरिकताको फोटोकपी, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेश गर्नुपर्ने हुन्छ। दलका उम्मेदवारको हकमा दलले दिएको आधिकारिक पत्र पनि समावेश गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको आयोगबाट प्राप्त पत्र चाहिन्छ भने लाभको पदमा भए राजीनामा दिनुपर्ने हुन्छ। रिक्त १८ पदमा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्