सरकारले उखु किसानलाई भन्यो- ‘तपाईंहरु ढुक्क भएर घर फर्किए हुन्छ ’

काठमाडौं , पुस १८ । सरकारले चिनी मिलबाट उखु किसानले प्राप्त गर्नुपर्ने सम्पूर्ण बक्यौता आगामी माघको पहिलो साताभित्र उठाइदिने विश्वास दिलाएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रवार आयोजित साक्षात्कारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यस्तो विश्वास दिलाएका हुन् । उनले उखु किसानले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेकाले शंका नगर्न आग्रह गरे ।

उनले भने, ‘किसानले मिलबाट प्राप्त गर्नुपर्ने रकममध्ये ८० प्रतिशत यही पुस मसान्त र बाँकी सबै रकम माघको पहिलो साताभित्र उपलब्ध गराउन सरकारले मिल सञ्चालकलाई कडा निर्देशन गरिसकेको छ, तपाईंहरु ढुक्क भएर घर फर्किए हुन्छ ।’

सो अवसरमा संघर्षमा रहेका किसानले सरकारका प्रतिनिधिसँग पटक–पटक वार्ता गरे पनि माग सम्बोधन नभएको हुँदा यसपटक लिखित सहमति नभएसम्म घर नफर्कने अडान सुनाए ।

चिनी मिलबाट उखु विक्रीवापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि नपाएपछि उखु किसान केही दिनदेखि काठमाडौंको माइतीघरमा आएर सरकारको ध्यानाकर्षणका लागि भद्र प्रदर्शनी गर्दैछन् ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल रू.५३६ तोक्नुका साथै किसानलाई प्रतिक्विन्टल रू.६५ र पैसा २८ अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्