नेपालमा चिनीयाँ प्याजको आयात बढ्दै
काठमाडौं ,पुस १८ । नेपालमा प्याज आयातको श्रृंखला भारतभन्दा चीनबाट बढ्दै गएको छ । भारतले नेपालमा प्याज निर्यात गर्न कडाई गरेपछि चीनबाट प्याजको आयात बढ्दै गएको हो ।
नेपालमा गत मंसिरमा मात्र चीनबाट १७ लाख ६० हजार केजी अर्थात् रू. १० करोड ७७ लाख बराबरको प्याज आयात भएको छ । जबकि सोही महीना भारतबाट भने ४ लाख ३२ हजार केजी अर्थात रू. १ करोड ६६ लाख बराबरको प्याज आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार, नेपालमा खपत हुने प्याजको झण्डै ९० प्रतिशत हिस्सा भारतबाट पूर्ति हुने गरेको छ । तर भारतले यो वर्ष प्याजको उत्पादन घटेसँगै भदौदेखि नै नेपालमा प्याज निर्यात गर्न कडाई गर्दै आएको छ ।
भन्सार विभागको तथ्यांकले पनि भदौयताका महीनामा भारतबाट हुने प्याजको आयात क्रमशः घट्दै गएको देखाएको छ ।
भारतले प्याज निर्यातमा कडाई गर्दा गत असोजबाट चीनको प्याज आयातमा वृद्धि भइरहेको छ । असोजयता चीनबाट २० लाख ७४ हजार केजी अर्थात रू. १२ करोड ३८ लाख बराबरको प्याज नेपाल आयात भएको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले पछिल्लो समय भारतबाट प्याज आयात लगभग ठप्प भएको र चीनबाट आयात भइरहेको बताए ।
तथ्यांकअनुसार चालू आवको पहिलो पाँच महीनामा ४ करोड ३३ लाख केजी अर्थात रू. १ अर्ब ६७ करोडको प्याज आयात भएको छ, त्यसमा भारतबाट ४ करोड २५ लाख केजी अर्थात् रू. १ अर्ब ५४ करोड बराबरको प्याज आयात भएको छ ।
यसैगरि नामिबियाबाट साउन महीनामा १२ हजार केजी अर्थात् रू. ३ लाख ८७ हजारको प्याज आयात भएको छ ।
चालू आवको पहिलो पाँच महीनामा १७ दशमलव ४७ प्रतिशतले प्याजको आयात घटेको छ । गत आवको सो अवधिमा ६ करोड ३४ लाख केजी अर्थात् रू. २ अर्ब २ करोड ४८ लाख बराबरको प्याज निर्यात भएको थियो ।
विभागको तथ्यांकअनुसार गत आवमा १६ करोड ७९ लाख ५२ हजार केजी प्याज आयात भएको थियो । रकमका आधारमा गत आवमा रू. ५ अर्ब २६ करोड ९६ लाखको प्याज आयात भएको विभागले बताएको छ ।
अहिले कालीमाटी बजारमा दैनिक ४० हजार केजी प्याज आउछ, त्यसमा न्यून मात्रामा भारतीय प्याज हुने गरेको छ । सामान्य अवस्थामा कालीमाटि बजारबाट दैनिक १ लाख केजी प्याज खपत हुने गरेको छ ।















प्रतिक्रिया दिनुहोस्