गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरु

काठमाडौं, पुस १८ । करीब दुई महीनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ ।

गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मंसिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए ।केन्द्रमा हाल दैनिक झण्डै तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले बताएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेसिनरीका सामान पुरानो भएपछि तीन टर्वाइनमध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ ।

केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । नहरमा आवश्यकताअनुसार पानी आए पनि र राम्रा उपकरण नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरूपमा उत्पादन हुन सकेको छैन ।

करीब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरणहरु मर्मत वा फेर्नुपर्ने अवस्थामा रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत् मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ ।

पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले बताएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करीब रू.१ अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले बताएको छ । सो केन्द्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यावसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन् ।

सो केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ कबाट परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । सो विद्युतगृह सन् १९७९ मा निर्माणसम्पन्न भई सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्