मलाई बडिगार्ड आवश्यक छैन : प्रदीप खड्का

काठमाडौं । नायक प्रदीप खड्का यतिबेला नेपाली सिने जगतका हट केक हुन् । प्रेमगीत र प्रेमगीत २ पछि उनको क्रेजको चर्चाले सिनेवृतमा ठूलै भूकम्प ल्याएको छ । पछिल्ला दिनहरुमा प्रदीप खड्काको खुबै आलोचना पनि भैरहेको छ । फिल्म लिली–बिलीको घोषणा सभामा ४ बडिगार्डसहित प्रवेश गरेपछि प्रदीप खड्काको विषयमा सामाजिक सञ्जालमा खुबै खिल्लि उडाइयो । त्यसको जवाफ उनले ‘प्रेमगीत २ ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर मनाइएको विशेष उत्सवमा दिएका छन ।

प्रदीपले आफूलाई बडिगार्डले छेकेको भन्दा आफ्ना प्रिय दर्शकले उचालेको मन पर्ने बताए । उनले भने, ‘न मलाई बडिगार्ड चाहिएको थियो न त भोलीका दिनमा चाहिन्छ । कसैलाई सुरक्षा थ्रेट छ भने मेरो विचारमा सरकारले सुरक्षाकर्मी उपलब्ध गराउँछ । अर्को कुरा म पनि सुरक्षाकर्मी लिएर हिँड्न सक्छु यदी मलार्ई सुरक्षा थ्रेट छ भने । तर, मलाई तीन करोड नेपालीले माया गरेको बेलामा बडिगार्ड कुनै आवश्यक छैन र महशुस पनि गरेको छैन ।

प्रदीपले अगाडि भने, ‘हलमा दशौँ हजार दर्शक हुँदा बडिगार्ड चाहिएन भने त्यो प्रेस मिटमा मलाई बडिगार्ड आवश्यक थिएन । तर, त्यो निर्माण टिमले एउटा कलाकारलाई दिएको सम्मान थियो। म पब्लिकमा घुलमिल हुन मन पराउने मान्छे हुँ, म खुला आकाश मै रमाउछु ।

प्रतिक्रिया दिनुहोस्