केयुमा पठनपाठन बन्द

काठमाडौं, १७ पुस । काठमाडौं विश्वविद्यालय (केयू)मा मंगलबारदेखि सबै पठनपाठन बन्द भएको छ । आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन बन्द भएको हो । तर विगतको आन्दोलनमा पठनपाठन रोकिएको थिएन । तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन नै बन्द भएको छ । प्राध्यापक तथा कर्मचारीहरु विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै आन्दोलन गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज, परीक्षा नियन्त्रकको कार्यालय र प्रशासनिक भवनहरुमा तालाबन्दी गरेका छन् ।

बुधबार धुलिखेल अस्पताल परिसरमा रहेको स्कुल अफ मेडिकल साइसेन्जमा ताला लगाउने र ताला लगाउन नदिने समूहबीच विवाद भएको थियो । उनीहरुबीच धकेलाधकेल भएपछि प्रहरी आएर रोकेको थियो । जसका कारण डिनको कार्यालयमा ताला लागे पनि सहायक डिनको कार्यालयमा भने ताला लाग्न पाएन ।

पेशागत हकहितको माग राखेर शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात गराएको भन्दै प्राध्यापक र कर्मचारीहरुले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग गरेका छन् । डीन, सहायक डीन र केही अराजक व्यक्तिहरुले भिडन्त निम्त्याएको उनीहरुको आरोप छ । तर बुधबार नै स्कुल अफ मेडिकल साइन्सेजले विज्ञप्ति निकालेर असहज परिस्थिति सिर्जना गर्न खोज्ने समूहलाई धुलिखेल अस्पतालका बिरामीका कुरुवाहरुले लखेटेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय, प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ मसान्तमा चार बुँदे सहमति भएको थियो । १०६ दिनसम्म पनि सो सहमति कार्यान्वयन नभएपछि उनीहरुले यही पुस १५ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही कार्यक्रमअनुसार स्कुल अफ मेडिकल साइन्सेजको डिनको कार्यालयमा ताला लगाउने क्रममा विवाद भएको हो । स्कूल अफ मेडिकल साइन्सेजका डीनको कार्यालयमा चार महिनाअघि एमबीबीएसका विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन । सोही तालामाथि प्राध्यापक र कर्मचारीहरुले अर्को ताला थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्