पाँच महिनामा ३६ अर्बले घट्यो व्यापार घाटा, निर्यात भने बढ्दो


काठमाडौं पुस १६ । पछिल्लो पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३६ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ६९ अर्ब रूपैयाँ थियो । तर, यस आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापारको घाटा ६.३० प्रतिशतले घटेर ५ खर्ब ३३ अर्ब रूपैयाँमा झरेको छ।

जुन अघिल्लो आवको तुलनामा ३६ अर्बले कम हो । अघिल्लो आर्थिक वर्षको ५ महिनामा नेपालले ६ खर्ब ६९ अर्ब रूपैयाँको आयात गरेकोमा यस आवको सोही अवधिमा ४.२१ प्रतिशतले आयातमा कमी आएको छ ।

नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढिरहेको र विदेशबाट आयातित वस्तुको परिणाम घटिरहेको भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्कले उल्लेख गरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र ७७ को पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार ५ खर्ब ८१ अर्ब रूपैयाँको आयात हुँदा ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात नेपालबाट भएको छ ।

यस्तै, अघिल्लो आवमा ३७ अर्ब ५० करोडको निर्यात भएकोमा यस आवको सोही अवधीमा निर्यात २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड पुगेको छ। गत वर्षको भन्दा १० अर्ब ११ करोडले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा आयात हुने वस्तुको परिमाण घट्दै गएसँगै कुल वैदेशिक व्यापारसमेत घट्दै गएको छ । अघिल्लो वर्षमा ६ खर्ब ४४ खर्बको वैदेशिक व्यापार रहेको थियो । तर, यस वर्ष २.४२ प्रतिशतले घट्दै वैदेशिक व्यापार ६ खर्ब २८ अर्बमा सिमिति भएको छ ।

यसका साथै यस अवधिमा ३ अर्बको चिया र कफी, ३ अर्ब ३५ करोडको कार्पेट, १ अर्बको स्टील तथा फलाम, निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ५ महिने तथ्यांकमा सबैभन्दा बढी इन्धको आयात भएको देखिन्छ । तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा इन्धन आयातको आकार भने घटेको छ । जसले, सम्पूर्ण आयातको तथ्याङ्कमा नै असर गरेको छ ।

यस्तै, सबैभन्दा बढी आयात हुने वस्तुको दोस्रो स्थानमा रहेको फलाम तथा स्टीलको आयात पनि यस वर्ष घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ६५ अर्ब ८२ करोडको फलाम र स्टीलको आयात भएकोमा चालु आर्थिक वर्षको ५ महिनामा २१ अर्ब ४ करोडले घटेर ४४ अर्ब ७८ करोडमा सिमित भएको छ ।

यस अवधिमा ८६ अर्ब १८ करोड रुपैयाँको इन्धन आयात भएको छ । यस्तै, १३ अर्ब २८ करोडको तरकारीजन्य वस्तु आयात भएको छ भने ४ अर्बको चिया र कफी भित्रिएको छ। २० अर्ब २१ करोडको खाद्यान्न, १३ अर्बको फर्मास्यूटिकल्स, १० अर्बको मल, २२ अर्बको प्लास्टिकजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्