एनआईसी एशिया लघुवित्त सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्दै

काठमाडौं , पुस १६ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो रकम बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओ अहिलेसम्मकै लघुवित्त कम्पनीहरुले जारी गरेकामध्ये ठूलो आईपीओ हो । यो कम्पनी एनआईसी एशिया बैंकको साहायक कम्पनी रहेको छ ।

लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

एनआईसी एशिया लघुवित्त नै यस क्षेत्रमा सबैभन्दा ठूलो आईपीओ जारी गर्ने संस्था बनेको छ। हालसम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्कासन गरेको छैन।

हालसम्ममा कम्पनीले ५८ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको केन्द्रिय कार्यालय जाजरकोट, खलङ्गामा रहेको छ । कम्पनीले २०७४ पुस ५ गतेदेखि सञ्चालनमा आएको हो ।

कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । आईपीओलाई केयर रेटिङ नेपालले गे्रड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको जनाउँछ ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख छ । रिजर्भ कोषमा रू. १६ करोड २९ लाख छुट्याएको हो । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ५३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९३ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड ८८ लाख नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्