भ्रमण वर्षको तयारी पुरा: सबैलाई दिपावली मनाउन सरकारको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो ।

मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दीपावली मनाउन आह्वान गरेका छन् । मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उनले बताए ।

नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश्भरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उनले बताए ।

सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपतिले जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नेछन् । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।

यसैबीच भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वङ सियापोफेङ नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् ।

भ्रमण वर्षको उद्घाटनमा नेपाल आउने उच्च विदेशी पाहुनामध्ये उनी पनि एक हुन् ।नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ । यस अवसरमा करिब आधा दर्जन मुलुकबाट उच्चपदस्थ पाहुनाले भाग लिने पर्यटन मन्त्रालयले जनाएको छ ।

यस्तै भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि नेपाल आइ पुगेका छन् । सरकारले भ्रमण वर्षको उद्घाटनका क्रममा सहभागिताका लागि दिएको निम्ता स्वीकार गर्दै पर्यटनमन्त्री नेपाल आएका हुन् । मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका छन् ।

यता बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं ओर्लीएका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् ।भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्