फिलिपिन्समा आँधीबाट ४१ जनाको मृत्यु , कयौं बेपत्ता
काठमाडौं, पुस १३ । फिलिपिन्समा आँधीबाट ४१ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ४१ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेको जनाइएको छ।
प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरुको खोजी भइरहेको बताएका छन् । प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो।
कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन्। त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो।
खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो। फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस्