कागेश्वरी मनोहरादेखि साँखुसम्म मेट्रो रेल विस्तार गर्न नगर प्रमुख कार्कीको प्रस्ताव
काठमाडौं, १३ कार्तिक । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रस्तावित मेट्रो रेलमार्ग साँखुसम्म विस्तार गर्न पहल अघि बढाएका छन्।
नगर प्रमुख कार्कीले बिहीबार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका–JICA) को प्राविधिक टोलीसँग भएको छलफलमा प्रस्तावित मेट्रो रेलमार्ग कागेश्वरी मनोहरा नगरपालिका हुँदै साँखुसम्म विस्तार गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
उनले प्रस्तावित रेलमार्ग नगरपालिकाको वडा नं. ९ हुँदै साँखुसम्म विस्तार गर्न सके उत्तरपूर्वी काठमाडौंका नागरिकले आधुनिक, सहज र भरपर्दो सार्वजनिक यातायातको सुविधा प्राप्त गर्ने बताए।
काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै बढ्दै गएको सवारी चाप, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थित अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्न मेट्रो रेलजस्ता आधुनिक यातायात पूर्वाधारको विकास आवश्यक रहेको उनको भनाइ छ।
नगर प्रमुख कार्कीका अनुसार ठूला पूर्वाधार आयोजना काठमाडौंको केन्द्रमा मात्र सीमित राख्नु हुँदैन। उपत्यकाका सबै क्षेत्रलाई समेट्ने गरी यातायात पूर्वाधारको विकास गर्न सके मात्रै सन्तुलित सहरीकरण र व्यवस्थित विकास सम्भव हुन्छ।
कागेश्वरी मनोहरा हुँदै साँखुसम्म मेट्रो रेल विस्तार हुन सके यस क्षेत्रका नागरिकको दैनिक आवागमन सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधि, व्यापार व्यवसाय र सहरी विकासमा समेत सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरेका छन्।
उनले मेट्रो रेल विस्तारको प्रस्तावलाई सम्बन्धित निकायमा निरन्तर उठाउने र स्थानीय नागरिकको आवश्यकता तथा अपेक्षालाई प्रस्तावित योजनामा समेट्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यकाको पूर्वोत्तर क्षेत्रमा समेत सहरीकरण र जनघनत्व बढ्दै गएको अवस्थामा सार्वजनिक यातायातको दीर्घकालीन विकल्पका रूपमा मेट्रो रेल विस्तारको विषयलाई महत्वपूर्ण पूर्वाधार योजनाका रूपमा हेरिएको छ।
तर, कागेश्वरी मनोहरा हुँदै साँखुसम्म मेट्रो रेल विस्तार गर्ने विषय हाल छलफलमा उठाइएको प्रस्ताव हो। यसको सम्भाव्यता, प्राविधिक पक्ष, लगानी, लागत र कार्यान्वयनको समयसीमा भने सम्बन्धित निकायको अध्ययन तथा निर्णयपछि मात्रै स्पष्ट हुनेछ।






















प्रतिक्रिया दिनुहोस्