२० लाख पर्यटक भित्र्याउने पक्कापक्की , सफल पार्न मन्त्री भट्टराईको आग्रह

काठमाडौं , पुस १३ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देशविदेशमा रहेका आदिवासी जनजातिहरूलाई आग्रह गरेका छन् ।


नेपाल आदिवासी जनजाति महासंघसँग आइतबार मन्त्रालयमा छलफल गर्दै उनले भ्रमण वर्ष मूल आयोजक समितिमा जनजाति प्रतिनिधिलाई मनोनित गरिने जानकारी दिए ।

पर्यटन मन्त्री भट्टराई भ्रमण नेपालमा बाहिर रहेका आदिवासी जनजातिलाई समेत भ्रमण वर्ष सफल पार्न भूमिका खेल्नुपर्नेमा जोड दिए । भ्रमण वर्षको उद्घाटन समारोहमा विभिन्न जातजातिलाई आफ्नो सांस्कृतिक झाँकी सहित उपस्थित हुन समेत उनले आग्रह गरे ।

महासंघका अध्यक्ष जगत बरामले भ्रमण वर्ष सफल बनाउन जनजातिहरू लागि रहेको र सरकारले उनीहरूको संस्कृति संरक्षणको योजना ल्याउनु पर्ने बताए । आदिवासी जनजातिसँग सम्बन्धित पर्वमा सरकारले बिदा दिनुपर्ने बरामको माग थियो ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयको क्षेत्राधिकारमा पर्ने सांस्कृतिक क्यालेण्डर बनाउन आफैंले पहल गर्ने बताए ।


२० लाख पर्यटक भित्र्याउने लक्ष्य


सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ ।

भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा गर्ने गरी तयारी भइरहेको बताए ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थलको क्षमता वृद्धि, अन्तर्रा्ष्ट्रिय उडानको विस्तार, अन्तर्रा्ष्ट्रिय प्रचारप्रसार र पर्यटकीय संरचना तयार भएका कारण पनि सरकारले २० लाख पर्यटक भित्र्याउने उनको दाबी थियो ।

नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहमा एक दर्जन हाराहारी मुलुकका पर्यटनमन्त्री सहभागी हुने मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार भारत, चीन कम्बोडियासहित एक दर्जन मुलुकका पर्यटनमन्त्री आउने निश्चित भएको छ ।

चीन, भारत, म्यानमार, युएई, कम्बोडिया, जापान, बंगलादेश, कतारलगायतका देशबाट पर्यटनमन्त्री भ्रमण वर्षको सुभारम्भ कार्यक्रममा आउने भट्टराईले बताए ।

भ्रमण वर्षका निम्ति नेपाल सरकारले ९ करोड रुपैयाँ छुट्याएको तर भ्रमण वर्षको सचिवालयले ६५ करोड रुपैयाँको बजेट अनुमान गरेको छ । अपुग बजेट नेपाल सरकारले दिने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्