अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, सहमतिसँगै अवरुद्ध निर्माण कार्य सुचारु
काठमाडौं, पुस १३ । केहिदिन देखि ठप्प रहेको सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जाको निर्माण कार्य शुरु भएको छ । विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङको निमार्ण कार्य सुचारु भएको हो ।
लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन हुन पुगेको हो ।
स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको हो । सहमतिपछि सडकअवरुद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालन भएको हो ।
अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले बिहीबारदेखि आन्दोलन शुरु गरेका थिए । विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि दुई हजार कामदार अलपत्र परेका थिए ।
अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिलेको छैन । यो सडक खण्डमा नेपाल सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनुपर्छ । यस क्षेत्रका २०० परिवारले मुआब्जा पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्