ग्यास उद्योगीलाई पीडीओ लिन सूचना, नलिए अनुमति नै रद्द गर्ने निगमको चेतावन

काठमाडा, १३ पुस । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार सूचनाप्रकाशित गरि पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो ।

दर्ता भएका ग्यास उद्योगहरूले नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माणाधीन उद्योगहरूले अझै पनि पीडीओ नलिएको हुँदा यस्तो सूचना निकबाल निगम वाध्य भएका हो । उद्योगहरूले पीडीओ लिन आनाकानी गरेपछि निगमले अनुमति रद्द गर्नेसम्मको चेतावनी दिएको हो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स ओगटेर बसेका कतिपय ग्यास उद्योगीले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगमाथि कडाई गर्न लागिएको बताए । गोइतका अनुसार, दर्तापछि पीडीओ नलिएका उद्योगलाई लिनका लागि ९० दिनको समयसीमा तोकिएको छ ।

तोकिएको ९० दिनभित्र पनि उद्योगहरूले पीडीओ नलिएमा निगमले प्रदान गरेको अनुमति खारेज गर्ने उनले जानकारी दिए ।

‘निगमको एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) को विनियम ४ बमोजिम पीडीओ प्राप्त गर्न एलपी ग्यास उद्योगीहरूलाई हामीले सूचना गरेका छौं’, निगम प्रवक्ता गोइतले भने, ‘अटेरी गरेर पीडीओ नलिएमा निगमले दिएका अनुमति खारेज गरिनेछ । कानुन बमोजिम निगम अगाडि बढ्छ । ’

प्रतिक्रिया दिनुहोस्