गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता, नेपालीहरुको समस्यामा ध्यान दिन आग्रह

काठमाडौं, पुस ११ । गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको बताएको छ ।

भेटमा गृहमन्त्री थापाले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गतवर्ष तीनसय थप गरिदिएकोमा राजदूत मारवानेमार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरका हुन् ।

साथै उनले नेपाल र साउदी अरेबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मरवानेको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।


भेटमा राजदूतले मारवानेले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे ।

साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेका उनले बताएका थिए । साथै उनले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफुले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्