पुनर्निर्माण सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक, अहिलेसम्म कति भयो खर्च ?

काठमाण्डौ , पुस १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको जनाएको छ । प्राधिकरण स्थापना भएको चार वर्ष पुरा भएको सन्दर्भमा प्राधिकरणले आज गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अहिलेसम्म तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च बताए ।

यस आर्थिक वर्षको लागि ३४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गर्न बाँकी रहेको पनि उनले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार खर्च भएको तीन खर्ब ३५ अर्ब रुपैयाँमध्ये सरकार र दातृ निकायले दुई खर्ब ९३ रुपैयाँ र गैरसरकारी संस्थाले ४२ अर्ब रुपैयाँ पुनर्निर्माणको क्षेत्रमा खर्च गरेका छन् ।

प्राधिकरणले पुनर्निर्माणका ६ वटा क्षेत्रः निजी आवास, सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र सुरक्षा निकायको पुननिर्माणमा समग्रमा ८३ प्रतिशत उपलब्धि हासिल भएको पनि जनाएको छ ।

निजी आवासमा चार लाख ८२ हजार घर अर्थात् ८६ प्रतिशत प्रगति भएको छ भने २४ प्रतिशत घर बन्दै छन् । आवाससम्बन्धी चार लाख गुनासो सुनवाइ भएको प्राधिकरणले जनाएको छ ।

भूकम्पले भत्काएका ७१ प्रतिशत विद्यालयको पुननिर्माण सकिएको, आठ सय ९१ मध्ये तीन सय ८७ वटा सम्पदा पुननिर्माण भइसकेको, चार सय १५ वटा सरकारी भवनमध्ये तीन सय ५९ वटा सम्पन्न भएको, सुरक्षा निकायका एक सय ८३ वटा भवन निर्माण सकिएको र ३२ वटा बन्दै गरेको पनि प्राधिकरणले जनाएको छ ।

यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा ४६ वटा एकीकृत बस्तीले स्वीकृति पाएकोमा तीन वटा सकिएको र २२ वटा एकीकृत बस्ती बनिरहेको पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्