मकवानपुरको एक जंगलबाट निस्कियो ठूलो धुवाँको मुस्लो , विमान दुर्घटनाको आशंका

काठमाडौँ , पुस ९ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको बीचमा ठूलो आगोको मुस्लो देखिएको भन्दै विमान दुर्घटनाको आशंका गरिएपनि त्यसमा सत्यता नभएको नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रको जंगलमा बुधबार बिहान देखिएको धुवाँको मुस्लो डढेलोका कारण निस्किएको धुवाँ रहेको प्रहरीले बताएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालमा सञ्चालन हुने सबै विमान अहिले सम्पर्कमै रहेका छन् । त्यसक्षेत्रमा कुनै पनि विमान वा हेलिकप्टर दुर्घटना नभएको प्रवक्ता क्षेत्रीले बताए ।

उनले भने ‘अहिले मकवानपुरमा दुर्घटना भयो भनेर हल्ला भएको रहेछ । त्यो पूरै गलत सूचना हो । हाम्रा सबै विमान र हेलिकप्टरहरु सम्पर्कमै छन् । त्यहाँ कसैले आगो लगाएको होला, तर त्यहाँ कुनै विमान दुर्घटनामा परेको छैन ।’ आगो लागेको स्थानमा यतिबेला प्रहरीको टोली जाँदै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्