साताको पहिलो दिन नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं, पुस ६ । सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ।
आइतबार परिसूचक १ दशमलव १७ अंकले बढेर १ हजार १ सय ५० दशमलव ८१ अंकमा कायम भएको छ।
आइतबार १ सय ६७ वटा कम्पनीको १४ लाख ८८ हजार ३ सय ४ कित्ता सेयर ६ हजार ८७ पटक खरिदबिक्री हुँदा ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ७६ लाख ८१ हजार र एनएमबी बैंकको ३ करोड ३३ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार बैंकिङ, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बिमा कम्पनीको उपसूचक घटेको छ भने बाँँकी अरु समूहको उपसूचक बढेको छ।
आइतबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्