अर्थमन्त्रीले भने – वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्

काठमाडौं , पुस ६ । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय अपारधका दायरा बढिरहेको भन्दै त्यो नियन्त्रणको चुनौति रहेको बताएका छन् ।


उनले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान र्पुयाउनुपर्ने समेत बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आइतवार आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्िरयामा उनले यस्तो बताएका हुन् ।

‘सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन् ,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे ।

‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ,’ उनले भने, ‘कुनै कारोबारको जरोदेखि नै गलत क्रियाकलाप शुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन ।’

प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए । ‘नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यताका हिसावले बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्