प्रधानन्यायाधीश जबरा भन्छन् – अपराध अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ
काठमाडौं , पुस ४ । पछिल्लो समय देशमा विभिन्न खालका हत्या हिंसा , बलात्कार जस्ता जघन्य अपराधका घटना बढि रहेका छन् । यसमा कतिपयले न्याय नै नपाएको गुनासो गरेका छन भने कतिपय गुपचुपमै रहने गर्दछन् ।
न्याय पाउन जतिसुकै आवाज उठाएपनि न्याय पाउन नसकेको जनताले गुनासो गर्दै आइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्नेमा जोड दिएका छन् ।
प्रहरी र सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तोमा जोड दिएका हुन् । फौजदारी न्याय प्रणालीमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको सक्षमता र निष्पक्षता आवश्यक मानिने उनले बताए ।
बदलिँदो परिस्थितिअनुसार अनुसन्धानकर्ता र अभियोजनकर्ताको क्षमतावृद्धिमा पनि ध्यान दिनुपर्ने प्रधानन्यायाधीश जबराले बताए । ‘एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको गन्तव्य भेट्न सकिदैन’ उनले भने ।
फौजदारी न्याय प्रणालीमा परम्परागत मापदण्डले मात्र नपुग्ने भन्दै उनले यसमा समय अनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए । गत वर्षदेखि लागू भएका संहिता कानूनहरु विस्तृत, जटिल र महत्वपूर्ण रहेको भन्दै प्रधानन्यायाधीश जबराले तिनको प्रयोगमा एकरुपता त्यत्तकै आवश्यक रहेको बताए ।
‘संहिता कानूनको कार्यान्वयन जति राम्रो गर्न सक्छौं भविष्यमा त्यति नै मार्गदर्शन बन्न सक्छन्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्