प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।


भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्, संसद अधिवेशन लगायतका विषयमा कुराकानी भएको नेता लेखकले जानकारी दिए ।

सरकारले संवैधानिक परिषद्को संख्या घटाउने गरि अध्यादेश ल्याउन खोजेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।‘सरकारले संवैधानिक परिषद्को संख्या घटाएर अध्यादेश ल्याउन खोज्यो, हामी त्यसो गर्नु सही नभएको बतायौं’ नेता लेखकले भने ।

सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच एक घण्टा छलफल चलेको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्