चिसोबाट कसरी बच्ने ? यी कुरामा ध्यान दिनुहोस् !
काठमाण्डौ , पुस २ । काठमाडौं लगाएत देशभर चिसो बढेको छ । तराइका जिल्लामा त झनै हुस्सू र कुहिरोले त्यहाँको जनजिवन सकस भएको छ । चिसो बढेसँगै मानिसको विभिन्न स्वास्थ्यमा विभन्न समस्या आउने गर्दछन् । यस्ता समस्या हुने भएकाले सावधानी अपनाउन पनि डाक्टरले सुझाव दिने गरेका छन् ।
रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । चिसोका कारण बढी मात्रामा बुढाबुढी, बालबालिका तथा दीर्घरोगी प्रभावित हुने गरेका छन् ।
चिसोमा अरु बेलाभन्दा ब्याक्टेरियाको संक्रमण पनि धेरै हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिए ।
जाडोको समयमा घाम राम्रोसँग नलाग्ने भएकाले कोठा अँध्यारो हुने र मनोवैज्ञानिक समस्या समेत देखापर्न सक्ने उनको भनाइ छ ।
चिसोबाट बच्नका लागि
-केही समय घाममा बस्ने
-तातो, झोलिलो खानेकुरा खाने
– व्यायाम गर्ने
– शरीरलाई ऊर्जा दिने खानेकुरा खाने
-बाक्लो कपडा लगाउने र शरीरलाई सधैं न्यानो राख्ने
– तर कोठा न्यानो बनाउने भनेर कोइला, हिटर लगायतका वस्तु बालेर नसुत्न र पूर्ण रुपमा झ्याल ढोका नलगाउन पनि डाक्टरले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्