राष्ट्रियसभा निर्वाचन : पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौं, पुस २ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।बुधबार सार्वजनिक गरिएको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् ।

उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान भने माघ ९ गते हुनेछ ।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

५९ सदस्यीय राष्ट्रियसभाको एक तिहाइ सदस्यको पहिलो कार्यकाल दुई वर्षको मात्रै हुने संवैधानिक प्रावधान छ। जसअनुसार १९ जनाको पदावधि समाप्त हुँदैछ। एक जनालाई राष्ट्रपतिले मनोनित गर्ने भए पनि १८ जनाका लागि निर्वाचन हुँदैछ। राष्ट्रियसभामा प्रदेशसभाका सदस्यहरु तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन्।
यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्