अर्थमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता , पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह

काठमाण्डौ , पुस १ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।


भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिँदै नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौँ देखि प्राप्त सहयोगको लागि धन्यवाद दिए ।साथै उनले यो सहयोग निरन्तर रइरहने विश्वास समेत व्यक्त गरे ।

अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।
अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए ।

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे ।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै माननीय अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे ।

यता राजदूत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।

उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ । बेलायत सरकारले नेपाललाई सधैब साथ र सहयो गर्ने उनले बताइन।

प्रतिक्रिया दिनुहोस्