लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार पार्दै नापी विभाग

काठमाडौं , पुस १ । भारतले आफ्नो नक्सा सार्वजनिक गरेसँगै नेपालमा यसको विरोध भइरहेको छ । यस विषयमा विभिन्न संघ संस्था तथा विभिन्न संगठनका विद्यार्थीहरुले सरकारलाई दबाब स्वरुपप घचघच्याई रहेका छन् ।

यसैबिच नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।

नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताएका छन् । संघीय संसदका राज्य व्यवस्था समिति र अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना काली (महाकाली) नदी हो । सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।

ती सम्पूर्ण भूभाग समेटेर नक्सा सार्वजनिक गर्न दिएको निर्देशन पालना नभएको भनेर आलोचना भइरहेका बेला विभागले सरकारको निर्देशनमा नयाँ नक्सा बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्