सिन्धुपाल्चोकमा बस दुर्घटना (अपडेट) : मृतकको संख्या १५ पुग्यो, ६ को सनाखत

काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले बताए । घटनामा मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ।

सनाखत हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका-७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङको मृत्यु भएको छ भने दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका-९ वर्ष २८ की मञ्जु तामाङ ,त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्य्विनायक नगरपालिका-८ का वर्ष ३२ का चिनु बस्नेतको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ४-५ जनाको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।बाँकी ७ घाइतेलाई हेम्स अस्पतालमा लगिँदै गरेको प्रहरी इन्स्पेक्टर खनालले जानकारी दिए। सहचालक विप्लव तामाङ घाइते छन् भने चालक फरार रहकाले उनको अवस्थाबारे भने थाहा नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्