गण्डकी प्रदेशको विद्युत् चुहावट ७ दशमलव ९ प्रतिशतमा झारिने
काठमाडौं, मंसिर २९ । गण्डकी प्रदेशको विद्युत् चुहावट ७ दशमलव ९ प्रतिशतमा झारिने भएको छ । यसका लागि प्राधिकरणको व्यवस्थापनले शनिबार विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतासमेत गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले कार्यसम्पादन सम्झौता गरेका हुन्। त्यस्तै वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई ७ दशमलव ९ प्रतिशतमा झार्ने तयारी गरेको हो ।
प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गत आर्थिक वर्ष २०७५र७६ मा १० दशमलव ४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आर्थिक वर्षमा ७ दशलमव ९ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो। चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट ९ दशमलव २ प्रतिशत छ।
प्रादेशिक कार्यालय पोखरा मातहत गण्डकी प्रदेशमा पर्ने ११ जिल्लाका १३ वितरण केन्द्रहरु छन्। कार्यलयअन्तर्गतका ग्राहकको संख्या ३ लाख ७० हजार छ। यस प्रदेशमा ७६ वटा सामुदायिक संस्थाले ८८ हजार ग्राहकलाई सेवा दिइरहेका छन्।
प्राधिकरणले गत आर्थिक वर्ष २०७५र७६मा वितरणतर्फको ११ दशलमव २८ प्रतिशतको चुहावटलाई २ दशमलव ७८ प्रतिशत बिन्दुले घटाएर ८ दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो।
प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १, २ र ३ का प्रादेशिक र प्रदेश ३ को डिभिजन कार्यालय हेटौंडाका कार्यालयका प्रमुख र मातहतका ७३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ।















प्रतिक्रिया दिनुहोस्