वनभोज हिंडेको कलेज बस दुर्घटना, २२ जना घाइते, केहि गम्भीर

काठमाडौं , मंसिर २७ । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि हिँडेको बस दुर्घटनामा परेको छ । कलेजबाट भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक सविन प्रधानले बताएका छन् ।

भक्तपुरको सूर्य्विनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटनामा परेको हो ।


दुर्घटनामा २२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको छ ।

अन्य २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए भने ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।

,

प्रतिक्रिया दिनुहोस्