कर्णालीका सुत्केरीलाई ‘कोसेली’, दुई हजार रकम पाउने

काठमाडौं, मंसिर २६ । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा रु चार हजार ८०० पाउने व्यवस्था गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने महिलालाई पोषणबापत दुई हजार रकम दिने व्यवस्था गरेको छ । प्रदेशका १० जिल्लामा लागू हुने गरी सुत्केरी कोसेली कार्यक्रम लागू गरिएको छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउन प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

“कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”, उनले भने, “पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युमा कमी गर्न सकिन्छ भन्ने उद्देश्य हो ।” मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि रु चार करोड बजेट छुट्याइएको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुत्केरीलाई कोसेली कार्यक्रमले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनका लागि प्रोत्साहन गर्ने बताए । यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने उनले बताए ।
उनले स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत रु दुई हजार, चारपटक गर्भ जाँच गरेबापत रु ८०० र पोषणबापत रु दुई हजार रकम सुत्केरी महिलाले पाउने बताए । पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालका हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने बताए । अन्य सबै स्वास्थ्य संस्थामा भने सबै महिलालाई प्रदान गरिने उनले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्