मौसममा बदली, उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने

काठमाडौं, २६ मंसिर । पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ । इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु(कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको छ ।

सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादलिनुकासाथै चिसो बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश गरेको जनाएको छ । पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू(भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको नोटिसमा भनिएको छ ।

बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।

दिउँसो देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ । पश्चिम भेगका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू– भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्