नैपाली बैंक ह्याक गरी १४ करोड ठगी गर्ने गिरोह प्रहरीद्वारा सार्वजनिक

काठमाडौं, मंसिर २५ । विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी करोडौं रकम ठगीका साथै बैंक तथा वित्तिय संस्था ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा फुलपा २ का रमेश खड्का, नवलपरासी रामग्राम १७ का विश्वेश्वर तिवारी तथा सन्दीप कलवार छन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाले बुधबार सार्वजनिक गरेको हो।

नाइजेरियन तथा भारतीय नागरिकहरु भारतको दिल्ली तथा मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकलाई एजेन्ट बनाई सामाजिक सञ्जालमार्फत् ठग्ने गरेको प्रहरीको भनाइ छ।

उनीहरूले भाइबर, ह्वाट्सएप, इमो, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनको माध्यमबाट चिठ्ठा परेको छ, पार्सल आएको छ भनी प्रलोभनमा पराी करोडौं रकम ठगी गरेका थिए। यस्तै, उनीहरुले नेपालका बैक तथा वित्तिय संस्थासमेत ह्याक गरी उक्त ठगी तथा ह्याक गरेको रकम विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत् कारोबार गर्नुका साथै उक्त रकमको १५ देखि २० प्रतिशत नेपाली नागरिकलाई दिने र बाँकी विभिन्न माध्यमबाट भारत पठाउने गरेको प्रहरीले जनाएको छ।

नाइजेरियाली र भारतीयले बैंक ह्याक र अनलाइन ठगीको रकम पठाउने प्रयोजनका लागि नेपाली एजेन्टलाई विभिन्न बैंकमा खाता खोल्न लगाएको र एउटै एजेन्टबाट ६ वटाभन्दा बढी बैंक खाताबाट कारोबार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार नेपालमा उक्त काम गर्नका लागि ४० भन्दा बढी एजेन्ट परिचालित रहेको र हालसम्म १४ करोड ६७ लाख ९१ हजार शंकास्पद कारोबार गरेको भेटिएको छ।

हालसम्म ३४ नेपाली अनलाइन ठगीमा संलग्न रहेको देखिएको र पीडितमध्ये १५ जना सम्पर्कका रहेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। प्रहरीले यो ठगी प्रकरणमा नाइजेरियाली तथा बेलायती नागरिकहरु पिटर हर्मन असेन्जा र स्मीथ मोरिस संलग्न रहेको जनाएको छ।

यो गिरोहले कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको थियो भने बैंक अफ काठमाडौं, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराइज बैंक, सिटिजन बैंक, नवील बैंक, लुम्बिनी विकास बैंक, माछापुच्छ्रे बैंक, एसबीआइ बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमआई लगायतका बैंक प्रयोग गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्