शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त, प्रदेश प्रमुख र मुकाम तोक्ने विषयमा अन्यौल

काठमाडौं । लामो समय प्रमुख दलहरुबीच संवाद नहुदा प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने विषय अन्यौलमा परेको छ । सरकारले तत्काल प्रदेश प्रमुख र मुकाम तोम्नुपर्ने भएपनि पछिल्लो समय यो विषयमा संवाद नहुदा अन्यौनमा परेको हो ।

प्रमुख दलका शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त भएपछि प्रदेश प्रमुख र मुकाम तोक्ने विषयमा लम्वीदै गएको छ । प्रधानमन्त्री देउवाले गत साता आह्वान गरेको सर्वदलिय बैठकमा दलहरुबीच मोटामोटी सहमति भएपनि दलगत भागबन्डाका कारण प्रदेश प्रमुख र मुकाम तोक्ने विषय पेचीलो बन्दै गएको छ ।

गत शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र मुकाम तोक्ने भनिए पनि आन्तरिक छलफल बाँकी रहेको भन्दै सरकार पछि हटेको थियो । प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रममा व्यस्त हुनु, एमाले अध्यक्ष केपी शर्मा ओली उपचारकालागि विदेश जानु र माओवादी केन्द्रका अध्यक्ष दाहाल आन्तरिक छलफलमा रहेकाले महत्वपूर्ण विषय अन्यौलमा परेको हो ।

यताः वर्तमान सरकारले केहि महत्वपुर्ण निर्णय समयमै गर्नुपर्ने भएपनि आन्तरिक छलफलले निरन्तरता नपाउँदा निर्वाचन आयोग सकसमा रहेको छ । निर्वाचन आयोगले माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकि काम अघि बढाएको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सरकारले एक सातामा केहि महत्वपूर्ण काम सम्पन्न गरे आयोगलाई सहज हुने गरेको छ्। अबको एक साता भित्रमा सरकारले प्रदेश प्रमुखको नियुक्ति र शपथ, प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुखको कार्यालय भवन र सचिवालय, प्रदेशसभाको अन्तिम परिणाम राजपत्रमा प्रकाशन र प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण लगायतका काम सक्नुपर्ने वाध्यात्मक अबस्था छ ।

प्रदेशसभाको सम्पूर्ण नतिजा तयार पारेसकेको आयोग सार्वजनिक गर्नेबारे प्रष्ट व्यवस्था नहुदा अन्यौलमा परेको छ । प्रदेशसभाको सम्पूर्ण नतिजा तयार पारिसकेको भए पनि प्रदेश प्रमुख नियुक्त नहुँदा अन्तिम परिणाम सार्वजनिक गर्न कानुनी जटिलता पैदा भएको आयोगका प्रवक्ता ढकालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्