७ हजार घुससहित असई पक्राउ , लागु औषधसहित ६ जना समातिए

काठमाडौं,मंसिर १९ । सात हजार रुपैयाँ घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित पक्राउ परेका हुन्।

दाहालले सेवाग्राहीलाई अनावश्यक दुख दिने, विभिन्न खाद्य सामग्रीहरू ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित उनलाई पक्राउ गरेको हो।

घुस रकमसहित उनलाई विराटनगर महानगरपालिका–६ घाँसचोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

लागु औषधसहित ६ जना पक्राउ
लागु औषधसहित विभिन्न ठाउँबाट ६ जना पक्राउ परेका छन्। दैलेखबाट ४ जना, नवलपरासीबाट २ जना गरी ६ जना पक्राउ परेका हुन्।

दैलेख गुँरास गाउँपालिका-४ रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ दशमलव ५० ग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–४ बस्ने २४ वर्षीय रबि मल्ल, चन्दननाथ नगरपालिका(१ बस्ने २२ वर्षीय शालिकराम महत, चन्दननाथ नगरपालिका-५ बस्ने सौगात कार्की र मुगु छाँयानाथ रारा नगरपालिका(११ बस्ने २३ वर्षीय महेलाल साउद रहेका छन्।


शंकास्पद रुपमा हिँडीरहेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ तिनघरे चोकबाट नियन्त्रित डाइजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने २४ वर्षीय रोशन पाठक र आइत बहादुर थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ख ८६२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्