सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

काठमाडौं, मंसिर १७ । न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ।मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन्। उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन्।

त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्।

बैठकले पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ। भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा

र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा भएका छन्।आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेले गत मंसिर ३ मा अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली रहेको छ।

६ जना सिडिओको सरूवा

गृहमन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ। जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको छ भने पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ।

त्यसैगरी जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा भएका छन्।

गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्