बागलुङ जीप दुर्घटना अपडेटः ११ जनाको सनाखत

काठमाडौं, मंसिर १७ । बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये ११ जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको परिचय खुलेको छ ।

अन्य तिनजनाको परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसीको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जनाकारी दिए ।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख नवराज भट्टले बताए । जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीहरुको बडिगाड पोलिक्ल्नीकमा उपचार भइरहेको छ भने, एकजना बेपत्ता भएको आशंका गरिएको छ । जिपमा १८ जना सवार थिए ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्